बैंक लुटपाट गर्ने भारतीय युवक पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण ११, बिहीबार ०९:४४
सांकेतिक तस्बिर

महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् ।

प्रहरीका अनुसार, गत जेष्ठ १६ गते रु १५ लाख लुटेको घटनामा साफी संलग्न थिए । चार–पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए ।

साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो । लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

अब चाँडै नै उनीहरुलाई पनि पक्राउ गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ । पक्राउ परेका अजयमाथि हातहतियार र चोरी डाँका शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिई अनुसन्धान गरिरहेको जनाइएको छ ।