‘अन्तिम समयमा टेण्डर गर्ने र काम नगर्ने परिपाटीको अन्त्य गर्नुपर्छ’
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले अन्तिम समयमा टेण्डर गर्ने र काम नगर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले बुधबार हेटौंडामा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक समिक्षा गोष्ठी कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशका सबै जिल्लाबाट पूर्वाधारका काममा तीन महिना भित्र टेण्डर गरिसक्न निर्देशन दिँदै अन्तिम समय (बैशाख र जेष्ठ) मा टेण्डर गर्ने र काम नगर्ने परिपाटीको अन्त्य गरी अब टेण्डरको काम सुरु गर्नुपर्ने बताए ।
उनले अब हचुवाको भरमा मात्र काम गर्ने भन्दा पनि पाँच वर्षे आवधिक योजना बनाएर बजेट किताबमा रहेका कुन–कुन योजना अहिलेनै गर्न सकिने र कुन योजना गर्न नसकिने भनेर लेखेर पठाउनु पर्नेमा जोड दिए ।
मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी जोड्ने छोटो मार्ग अन्तरगत पर्ने भैंसे–भीमफेदी सडकखण्डको काम ढिलो गतिमा भइरहेकाले छिटो सक्नेगरी काम गर्न आग्रह गरे ।
