अवैध लागूऔषधसहित पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित दुई छुट्टाछुट्टै स्थानबाट शुक्रबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले धादिङ र बारा गरी दुई छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीले धादिङको गजुरी गाउँपालिका–८ चालिसेबाट अवैध लागूऔषध गाँजा १० केजीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका–२ बस्ने २९ वर्षीय रविन दोङ तामाङ रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित पोलप्लान्ट अगाडि सडकबाट अवैध लागूऔषध गाँजा २ केजीसहित २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–२० बस्डिल्वा बस्ने २७ वर्षीय अजय राउत अहीर र पर्सा सुगौली गाउँपालिका–२ बस्ने ३१ वर्षीय मेघराज यादव रहेका छन् ।
उक्त सडकमा ना.५१ प ८३३९ नम्बरको मोटरसाइकलको ट्याङकीमा लुकाई ल्याएको गाँजा बीआर ०५ जेड ८५११ नम्बरको मोटरसाइकलमा ट्याङकी सहित बदल्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यी दुवै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
