एक लाख घुससहित लेखा अधिकृत पक्राउ
सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई रु एक लाख घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार, सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ ।
पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन् ।
पक्राउ परेका उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
