हेटौंडामा सवारी दुर्घटना हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

तु खबर संवाददाता
२०८० असार २६, मंगलवार १८:५४

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मंगलबार सवारी दुर्घटना भएको छ । जिल्लाको हेटौंडा–१९ र हेटौंडा–१ मा सवारी दुर्घटना भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मंगलबार अपराह्न साढे ४ बजेको समयमा हेटौंडा–१९, बस्तिपुरस्थित पुर्व–पश्चिम सडकखण्डमा हेटांैडाबाट नेवारपानीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ त ५८५९ नं. ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको ना.५९ प ५७२ नं.को मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक मकवानपुरको हेटौंडा–१९, बस्तिपुर बस्ने अन्दाजी २६ वर्षीय सुशन बानियाँ रहेका छन् । उनलाई उपचारको लागि हेटौंडातर्फ ल्याइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

उनका अनुसार, घाइते उनको दाहिने कुम, खुट्टा, छातीमा चोट लागेको र अवस्थामा मध्यम रहेको छ । दुर्घटनापश्चात ट्याक्टर चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको जनाइएको छ ।

यस्तै, आज साँझ ५ः४० बजेको समयमा हेटौंडा–१, तरकारी बजार नजिकै तरकारी बजारबाट चौकीटोलतर्फ जाँदै गरेको बा.प्र.–०३–००१त ०४९० नं.को ट्याक्टरले ठक्कर दिँदा एक जना बालिका घाइते भएका छन् ।

ट्याक्टरको ठक्करबाट पैदलयात्री स्थानीय कान्छीमाया घलानको छोरी ८ वर्षीया रिया मोक्तान घाइते भएकी छन् । ट्याक्टरको ठक्करबाट घाइते भएकी उनलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

उनका अनुसार, घाइते उनको टाउकोमा चोट लागेको र अवस्थामा गम्भीर रहेको छ । प्रहरीले उक्त ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।