लागूऔषधसहित हेटौंडाका लामा पक्राउ

तु खबर संवाददाता
२०८० असार २६, मंगलवार ०८:१९
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित सोमबार साँझ हेटौंडा उपमहानगररपालिका वडा नम्वर १५, रातोमाटेबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ बदेलधाप बस्ने अन्दाजी २४ वर्षीय किरण लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

लामालाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले लागूऔषध ट्रामाडोल क्यापसुल लेखेको २७ फाईल ट्याबलेट (१ फाईलमा १० वटा ट्याबलेट भएको ) जम्मा –२७० वटा ट्याबलेटसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

उनका अनुसार, सोमबार साँझ साढे ७ बजेको समयमा चुरियामाईबाट हेटौंडा बजारतर्फ आउँदै गरेको उनलाई शंका लागि चेकजाँच गर्दा सो परिमाणको लागूऔषध फेला परेपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।