वन रक्षकको परीक्षा दिने ३ जना नक्कली परीक्षार्थी पक्राउ

तु खबर संवाददाता
२०८० असार २३, शनिबार १५:४३
file-photo

कास्की । वन रक्षकको परीक्षा दिने ३ जना नक्कली परीक्षार्थीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

लोक सेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजातहरु जाँच गर्ने क्रममा ३ जना नक्कली परीक्षार्थी फेला परेका हुन् ।

पक्राउ पर्नेहरुमा कालीकोटको रास्कोट–२, सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट ४ सिउनाका २० वर्षीय गौरी संज्याल र १८ वर्षीय अर्का एक जना छन् । उनी नाबालक भएकोले प्रहरीले पहिचान खुलाएको छैन ।

उनीहरुले परीक्षार्थीहरुको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका थिए । उनीहरुलाई जिल्ला अदालतबाट शिक्षा ऐनसम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।