लागुऔषधसहित १० जना पक्राउ

तु खबर संवाददाता
२०८० असार २२, शुक्रबार १५:२५

काठमाडौं । देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले देशको कञ्चनपुर, मोरङ, कैलाली, काठमाडौं र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कञ्चनपुरको भिमदत्त नगरपालिका–९ तुमडाडिबाट अवैध लागुऔषध खैरो हिरोइन १ ग्रामय ६७ मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय धिरेन्द्र जोशी र भिमदत्त नगरपालिका–१० जिमुवा बस्ने २३ वर्षीय दिपक जोशी रहेका छन् । इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले मोरङको रंगेली नगरपालिका–७ स्थित सिद्ध आइसा होटलबाट अवैध लागुऔषध ब्राउसुगर ५० ग्राम ७ सय ५० मिलिग्राम र तराजु १ थानसहित सोही नगरपालिका–६ बस्ने २४ वर्षीय शेफ खानलाई पक्राउ गरेको छ । स्थानीय होटलहरुमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा खानले उक्त लागूऔषध सोही नगरपालिका–७ भोटेवावु टोलस्थित हंगश प्वाईन्ट होटलका संचालक २८ वर्षीय दिपेश अग्रवालबाट खरिद गरी ल्याएको खुल्न आएकोले उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यता, कैलालीको धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट अवैध लागुऔषध खैरो हिरोइन ८०० मिलिग्रामसहित सोही उपमहानगरपालिका–२ बस्ने २७ वर्षीय रोहित बुढा थापालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, कैलालीकै धनगढी उपमहानगपालिका–३ ब्यारेल नजिकबाट अवैध लागुऔषध खैरो हेरोइन ६३० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोदावरी नगरपालिका–७ बस्ने २८ वर्षीय विनोद पुन मगर र सोही नगरपालिका–२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, कैलालीकै गोदावरी नगरपालिका–१ स्थित सार्थक होटलबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने १५० मिलीग्रामसहित सोही नगरपालिका–५ गेटा बस्ने २८ वर्षीय दिपेन्द्र अवस्थीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यता, काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट अवैध लागुऔषध गाँजा १ केजी ३ सय २८ ग्राम नुवाकोट मेघाङ गाउँपालिका–२ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले नुवाकोटदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४२१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

उता, उदयपुरको त्रियुगा नगरपालिका–३ मिलन चोक बस्ने ४२ वर्षीय किशोर चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर करिब १० ग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो घरमा लुकाई छुपाई ब्राउनसुगर बिक्री गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।