दोहोरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ

तु खबर संवाददाता
२०८० असार २०, बुधबार ०७:५२
file-photo

धनगढी । कञ्चपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बैतडीको पञ्चेश्चर गाउँपालिका–५ बस्ने ३९ कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरु श्रीमान् श्रीमती हुन् ।

प्रहरीका अनुसार, गत बैशाख २८ गते दोहोरो नागरिकतासम्बन्धी कसुरमा उनीहरुविरुद्ध जाहेरी दर्ता भएको थियो ।

प्रहरीले सोमबार मात्र उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ । कलावतीका नाममा जिल्ला प्रशासन कार्यालय बैतडी र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट नागरिकता जारी भएको भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बैतडीमा किस्मती चन्दको नामबाट नागरिकता लिएकी उनले कञ्चनपुरमा भने कलावतीको नामबाट लिएको बुझिएको छ ।

बैतडीबाट दोस्रो विवाह गरेर कञ्चनपुर झरेकी चन्दले अघिल्लो पतिबाट लिएको नागरिकता नत्यागेर पछिल्लो पतिको नामबाट समेत नागरिकता लिएको भेटिएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।