आइतबार स्थगित भएको बागमती प्रदेश सभा बैठक आज बस्दै

तु खबर संवाददाता
२०८० असार १८, सोमबार ०८:०५
file-photo

मकवानपुर । बागमती प्रदेश सभा बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजेपछि प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने गरी बोलाइएको हो ।

प्रतिपक्ष दलको निरन्तर अवरोधका कारण आइतबार पनि आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमाथि छलफल हुन सकेन । अपारह्न २ बजेका लागि बोलाइएको आइतबारको बैठक २ घण्टा ढिलो गरी ४ बजे सुरु भएको थियो ।

बैठक सुरु हुनासाथ प्रतिपक्ष दल नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईँले आफ्नो भनाईहरु राखेसँगै प्रमुख प्रतिपक्षी दल एमालेसहित राप्रपाका सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरेका थिए ।

उनीहरूले प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी र जनविरोधी भएको भन्दै नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो । आइतबार साँझ साँढे ५ बजे पुनः बस्ने गरी स्थगित गरिएको बैठक सहमति जुटाउन नसकेपछि सोमबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रतिपक्षी दल एमाले र राप्रपाले बजेटमा स्वास्थ्य, शिक्षा, कृषि उत्पादनलाई विशेष प्राथमिकता नदिई सत्तारुढ दलका नेताहरुको आफ्नो जिल्लाको निर्वाचन क्षेत्रमा मात्रै प्रोत्साहित हुने गरी, राजनीतिक पूर्वाग्राहीबाट प्रेरित भएको आरोप लगाउँदै त्यसलाई संशोधन गर्नुपर्ने माग गर्दै पटक–पटक संसद अवरुद्ध गर्दै आएको छ ।

उनीहरुले प्रदेश सरकारले विनियोजित बजेटलाई संशोधन नगरे संसद संचालन गर्न नदिने चेतावनी समेत दिइएको छ । आइतबार नै एमालेले पत्रकार सम्मेलन गर्दै बागमती सरकारको बजेट संशोधन गर्न ११ बुँदे माग गरेको छ ।