प्रतिपक्ष दलको विरोधपछि बागमती प्रदेश सभा स्थगित, ६ बजेपछि बस्ने

तु खबर संवाददाता
२०८० असार १२, मंगलवार १७:३३

मकवानपुर । बागमती प्रदेश सभाको बैठक १ घण्टाको लागि स्थगित गरिएको छ । प्रदेश सभाको आज अपराह्न बसेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसदहरुले विरोध जनाएपछि सभामुख भुवन कुमार पाठकले १ घण्टाका. लागि बैठक स्थगित गरेका हुन् ।

उक्त बैठकमा सभामुख पाठकले प्रदेश सरकारको तर्फबाट सार्वजनिक भएको अनुमानित बजेटमाथि छलफल गरियोस् भनि प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामालाई समय दिएका थिए ।

सभामुख पाठकले मन्त्री लामालाई प्रस्ताव टेबुल गर्न समय दिएलगतै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र प्रतिपक्ष दल राप्रपाका सांसदहरुले विरोध जनाएका थिए । मन्त्री लामाले बजेटमाथि छलफल गरियोस् भनि प्रस्ताव टेवुल गरेर फर्किदा समेत उनीहरुले आफ्नो आसनबाट उठेर विरोध जनाइरहेका थिए ।

त्यसपछि सभामुख पाठकले प्रमुख प्रतिपक्षको तर्फबाट नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई बोल्नलाई समय दिए ।

सो क्रममा बोल्नै नेता थपलियाले मौजुदा सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि प्रस्तुत गरिएको बजेटमा दिशाहीन, कृषक, विपन्न नागरिकहरुलाई उपेक्षा गरी राजनीतिक दलका नेता र कार्यकर्ताहरुलाई आफ्नो चुनाव क्षेत्रमा फाइदा पुग्ने गरी बजेट विनियोजन गरेको आरोप लगाएका थिए ।

उनले प्रस्तुत बजेटलाई प्रतिपक्षहरुको सुझाव अनुसार, पुर्नरलेखन गरी सम्माजनक प्रदेशको विकासको पूर्वाधार विकासको लागि समेट्नुपर्नेमा जोड दिँदै पुर्नरलेखन वा बजेटलाई संशोधन नगरेसम्म प्रतिपक्ष दलका सांसदहरुले बजटेमाथिको छलफल हुन नदिने घोषणा गरे ।

आर्थिक वर्ष २०८०–०८१ को बजेटमाथि छलफल सुरु गरियोस् भनि राखेको आह्वानलाई प्रतिपक्ष दलहरुबाट विरोध जारी नै राखेपछि सभामुख पाठकले बैठक ६ बजेपछि बस्ने गरी स्थगित गरे ।