विपद् व्यवस्थापनका लागि ११ स्थानमा सहायतास्थल र आपत्कालीन भण्डारण स्थापना

तु खबर संवाददाता
२०८० असार ७, बिहीबार १६:२७
file-photo

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका लागि सरकारले देशभरका ११ स्थानमा मानवीय सहायता स्थल र आपत्कालीन भण्डारणको स्थापना गरेको बताएका छन् ।

बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विपद् व्यवस्थापनका लागि सरकारले २३ वटा इन्फेटेबल डुंगा र ५ वटा इन्जिनसहितको डुंगा तयारी अवस्थामा राखेको पनि बताए ।

उनले आवश्यक पर्ने विभिन्न प्रकारका खोज तथा उद्धार सामग्री, एम्बुलेन्स बस, सामान्य एम्बुलेन्स, अग्नि नियन्त्रण यन्त्रसहितका सामग्री खरिद गरी जिल्ला सुरक्षा परिषद्मा पठाइसकेको बताए ।

उनले हवाई उद्धारका लागि कोशी र मधेस प्रदेशका लागि इटहरीमा एक, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सुर्खेतमा एक, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा काठमाडौंमा एक, गरी तीन वटा हेलिकप्टर, एवं एमवाईवानसेभेन, स्काइ ट्रक एक, सानो हेलिकप्टर एक काठमाडौंमा तयारी अवस्थामा राखिएको बताए । एउटा एमआई सेभेन्टिन र एक स्काइ ट्रक भरतपुरमा किनेर पठाउने तयारी गरिरहेको बताए ।