सहकारी देखिएका समस्या र निराकरण विषयक अन्तरक्रिया

तु खबर संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार ०९:११

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भएको सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयक दुई दिने प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पर्यटन, उद्योग तथा सहकारी बागमती प्रदेश सहकारी विकास बोर्ड हेटौंडाको आयोजनामा मंगलबारबाट सुरु भएको अन्तरक्रिया बुधबार ९ बुँदे घोषणापत्र सार्वजनिक गर्दै समापन गरिएको हो ।

उक्त घोषणापत्र प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाले पढेर सुनाएका थिए । पत्रमा सहकारी संघसंस्थाहरुले आफ्ना सदस्यहरुको लागि आ.व २०८०/०८१ लाई “सदस्य जागरण वर्ष” को रुपमा कार्यक्रम तयार गरी कार्यन्वयन गर्ने गराउने, प्रदेश सहकारी नीति निर्माणमा बागमती प्रदेश सरकारलाई सबै संघहरुले सहयोग गर्ने र यस वर्ष बागमती प्रदेश सहकारी नीति तर्जुमा गर्ने विषय समेटिएको छ ।

कार्यकारी उपाध्यक्ष देवकोटाले उक्त पत्रमा रहेका विषयवस्तुलाई आफ्नो जिल्लागत संघ र प्रारम्भिक संस्थाहरुलाई कार्यान्वयन गर्न गराउन सबैमा आग्रह गरे ।

कार्यक्रममा सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष एवम् संविधान सभा सदस्य ओमदेवी मल्ल, प्रदेश सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडा, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमराज पाठक, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल जडिबुटी सहकारी संघ केन्द्रीय अध्यक्ष ईश्वरीराज पाण्डे, प्रदेश सहकारी संघको अध्यक्ष रामशरण घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।