हेटौंडामा सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयक अन्तरक्रिया

तु खबर संवाददाता
२०८० जेष्ठ ३०, मंगलवार १९:१६

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयक दुई दिने अन्तरक्रिया कार्यक्रम आजबाट सुरु भएको छ । कार्यक्रम पर्यटन, उद्योग तथा सहकारी बागमती प्रदेश सहकारी विकास बोर्ड हेटौंडाको आयोजनामा सुरु भएको हो ।

बुधबारसम्म संचालन हुने उक्त अन्तरक्रिया कार्यक्रमको प्रदेशका पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गरेका हुन् । सो क्रममा उनले सहकारीमा अहिलेको समयमा देखिएका समस्याहरुलाई समाधान गर्नेतर्फ सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेशका १३ जिल्लाका सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिका साथै जिल्लामा रहेका विषयगत सहकारी संघहरुको अध्यक्ष एवम् प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा देखिएको समस्या र निराकरणका लागि सरोकारवालाहरुको भूमिका र छाता संघहरुको दायित्व, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले गरिबी न्यूनिकरण तथा सदस्यहरुको आर्थिक उन्नतिमा सहकारीको भूमिका र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले बचत सहकारीमा देखिएका समस्या र त्यसको समाधान उपायका विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मन्त्रालयका सचिव गोविन्द प्रसाद रिजाल, सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष एंव संविधान सभा सदस्य ओमदेवी मल्ल, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमराज पाठक, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, प्रदेश सहकारी संघको अध्यक्ष रामशरण घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, सहकारी महासंघका पुर्व सञ्चालक बद्री प्रसाद लम्साल लगायतको आतिथ्यता रहेको थियो ।

अन्तरक्रिया पछि बुधबार हेटौंडाबाट घोषणापत्र जारी गर्दै कार्यक्रम समापन गरिने जनाइएको छ ।