कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तामाङ पक्राउ

तु खबर संवाददाता
२०८० जेष्ठ २४, बुधबार १८:१७
सांकेतिक तस्बिर

काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले मंगलबार काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वरबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु लिखुपिके गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू पाँचधारा बस्ने ४६ वर्षीय शेर बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, तामाङले वैदेशिक रोजगारको लागि कम्बोडिया पठाई होटलमा मासिक १ लाख ५० हजार रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटक–पटक गरी ५ लाख रुपैयाँ लिएर सम्पर्क विहीन भएका थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । ठगी गरेको भनि पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ ।