अवैध लागूऔषधसहित १२ जना पक्राउ

तु खबर संवाददाता
२०८० जेष्ठ २२, सोमबार १९:०६

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, पर्सा, भोजपुर, मोरङ, सर्लाही, इलाम र झापा गरी सात छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, स्थित नागढुङ्गा चेक प्वाईन्टबाट अवैध लागूऔषध चरेश ७८० ग्राम र गाँजा ७० ग्रामसहित २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट बेलकोट गाउँपालिका–९ बस्ने ३८ वर्षीय उत्सब सापकोटा र कैलाली धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने २० वर्षीय मोहित सोडारी रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले प्र.०३–०१–०२३ च ०७३० नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै, पर्साको जिराभवानी गाउँपालिका–१ वरीया खोलाबाट अवैध लागूऔषध अवैध लागूऔषध गाँजा करिब ७ केजीसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीले प्रदेश–०३००५ प ४४२९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, भोजपुरको भोजपुर नगरपालिका घर भई हाल टेम्केमैयुङ गाउँपालिका–३ डेरा गरी बस्ने ३८ वर्षीय सन्तोष बराईलीलाई अवैध लागूऔषध खैरो हिरोईन १ ग्राम ९ सय ७० मिलिग्रामसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा लागू औषध खैरो हिरोईन लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर र ईलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधहित पक्राउ गरेको हो ।

यसैगरी, मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाँउस्थित आयल मोसा ग्यारेजबाट अवैध लागूऔषध खैरो हेरोईनको धुलो ९ ग्राम ५० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ग्यारेज संचालक सोही नगरपालिका–९ सलकपुर बस्ने २६ वर्षीय महमद ईस्लाम र सोही नगरपालिका–७ बस्ने २५ वर्षीय महेश ठाकुर रहेका छन् । ग्यारेजमा लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै, सर्लाहीको लालबन्दी नगरपालिका–१ पलार टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ केजीसहित सर्लाही पर्सा गाउँपालिका–५ बस्ने २० वर्षीय जयराम यादबलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले पीबी ६७–बी २४१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी, झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित मेमेङ होटल एण्ड लजको कोठा नम्बर १०१ बाट अवैध लागूऔषध ब्राउन सुगर करिब ३६ ग्राम ३ सय ४० मिलिग्राम र नगद २ हजार ५ सय ३० रुपैयाँसहित अर्जुनधारा नगरपालिका–१० चुथाई बस्ने ३० वर्षीय बिक्रम लिम्बुसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सो होटलमा लागू औषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, इलामको सूर्योदय नगरपालिका–८ छिपिटारबट अवैध लागूऔषध खैरो हेरोइन १९ ग्राम ३ सय ३० मिलिग्रामसहित इलाम नगरपालिका–९ गोल बस्ती बस्ने २७ वर्षीय रोशन खवाससहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले प्र–१–०२–०४१ प ३४१७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।