अवैध लागूऔषधसहित ६ जना प्रहरीको फन्दामा
काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके, रुपन्देही, कैलाली र भोजपुर गरी चार छुट्टाछुट्टै जिल्लाबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका–४ बस्ने १९ वर्षीय आषिश बिक र कोहलपुर नगरपालिका–१ कौसिलानगर बस्ने १९ वर्षीय पुष्कर थापा मगर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेको भे.१२ प ८६१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ धुर्वनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका–२ पाखापानी बस्ने ३९ वर्षीय बिनोद बहादुर हुनचुङ् मगर र सोही उपमहानगरपालिका–४ ट्राफिक चोक बस्ने २५ वर्षीय निसान गुरुङ रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी बिट जितगढीकिल्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ९० मिलिग्रामसहित गोदावरी नगरपालिका–५ बस्ने १७ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, कैलालीको टिकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय ४० मिलिग्रामसहित जानकी गाउँपालिका–९ पुर्वी खैरीफाँटा बस्ने २५ वर्षीय सागर कडारालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले भोजपुरको हतुवागढी गाउँपालिका–९ कोल्टारस्थित ज्यामिरे मचुवा कच्ची सडकबाट अवैध लागूऔषध गाँजा १९ केजी शनिबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी हसनपुर र ईलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ २ जना अपरिचित व्यक्तिहरूले २ वटा प्लाष्टिकको बोरा फाली फरार भएपछि प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
