बागमती प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिन मनाउने

तु खबर संवाददाता
२०८० जेष्ठ ९, मंगलवार १८:५६
फाइल तस्बिर

मकवानपुर । बागमती प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी तीन दिन गणतन्त्र दिवस मनाउने भएको छ ।

मंगलबार अपराह्न प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा गणतन्त्र दिवस समारोह समिति गठन गर्न बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार, बैठकले यही जेष्ठ १४, १५ र १६ गते विविध कार्यक्रम गरी गणतन्त्र दिवस २०८० भव्य रुपमा मनाउने निर्णय गरेको हो । गणतन्त्र दिवसको कार्यक्रम अन्तरगत जेष्ठ १४ गते हेटौंडा नगरमा सरसफाई तथा सरकारी कार्यालयहरुमा नेपालको राष्ट्रिय झण्डा फहराउने कार्यसूची रहेको छ ।

यस्तै, जेष्ठ १५ गते विहान प्रभातफेरी हुँदै मन्त्रिपरिषद् कार्यालयमा पुगेर कार्यक्रमको आयोजना तथा साँझ दिपावली गरिने भएको छ भने  जेष्ठ १६ गते खेलकुद र सरसफाई कार्यक्रमको आयोजना गरिने आन्तरिक मामिला मन्त्रालयका सूचना अधिकृत कार्कीले बताए ।

उनका अनुसार, उक्त दिवस मनाउन प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलको संयोजकत्वमा ३७ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

उक्त समितिमा बागमती प्रदेशका सभामुख भुवन पाठक, उपसभामुख अप्सरा चापागाईँ, बागमती प्रदेशका मन्त्रीहरु, विभिन्न मन्त्रालयका सचिवहरु, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि, हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामा, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, पत्रकार महासंघ मकवानपुरका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवीहरु, मकवानपुरका प्रजिअ लगायत सदस्य रहेका छन् ।

यस्तै, गणतन्त्र दिवस समारोह समितिको सदस्य सचिवमा भने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडा रहेका छन् ।