अवैध लागूऔषधसहित ९ जना प्रहरीको फन्दामा
काठमाडौं । प्रहरीले छुट्टाछुट्टै जिल्लाबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुली, बाँके, झापा, मोरङ, रूकुम (पूर्व), र महोत्तरी गरी ६ छुट्टाछुट्टै जिल्लाबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–६ माझिटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १४० मिलिग्रामसहित सप्तरी सुरुङ्गा नगरपालिका–५ बस्ने २० वर्षीय अविनाश चौधरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ५२६१ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले बाँकको नेपालगंज उपमहानगरपालिका–१७ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ७ ग्रामसहित सोही उपमहानगरपालिका–१४ बस्ने ३३ वर्षीय मोहम्मद अली साहलाई मंगलबार दिउँसो पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयशपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, झापाको कन्काई नगरपालिका–४ परिवर्तन टोल बस्ने १७ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर ५०० मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापाको कन्काई नगरपालिका–४ मनकामना मन्दिर परिसरबाट अवैध लागूऔषध ब्राउनसुगर ६०० मिलिग्रामसहित भोजपुर हतुवागढी गाउँपालिका–१ घर भएका ४२ वर्षीय प्रेम बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी, मोरङको उर्लाबारी नगरपालिका–४ किसान चोकबाट अवैध लागूऔषध खैरो हेरोईन करिब २ ग्राम ४९० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय अर्जुन श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले सडकको किनारमा रोकी राखेको प्रदेश १–०२–०५० प–५४४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, रूकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका–५ लुदुङ खोला भन्ने स्थानबाट अवैध लागूऔषध अफिम १ किलोग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीया अबिसरा रोका र १८ वर्षीय किशोरी रहेका छन् ।
यसैयरी, महोत्तरीको गौशाला नगरपालिका–१२ बाँके खोला रेलवे पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब ८२ किलोग्रामसहित सर्लाही ईश्वरपुर नगरपालिका–१२ ईश्वरपुर बस्ने २६ वर्षीय गणेश सार्की समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कान्तिबजार महोत्तरीबाट खटिएको प्रहरीले ना.७ त २२०० नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी ट्याक्टर चालक गणेशसमेत दुवै जनालाई पक्राउ गरेको हो ।
