मेडिकल कलेजको बस दुर्घटना हुँदा ६ जना घाइते

बैतडी । बैतडीमा नेपालगञ्ज मेडिकल कलेजको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । नेपालगंजबाट दार्चुलातर्फ स्वास्थ्य शिविरका लागि आउँदै गरेको भे १ क ३१८ नम्बरको कलेजको बस सोमबार राति १० बजे दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका–८ को अनारखोलीमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा बाँके नेपालगंज उपमहानगरपालिका–१२ का ३५ वर्षीय जंग बहादुर चौधरी, सोही ठाउँका ३२ वर्षीय शिसिर खड्का, ४४ वर्षीया रिता देवकोटा, ४६ वर्षीया सावित्री पौडेल, ४८ वर्षीया सुनिता खड्का, ४० वर्षीया ललिता गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर बस चालक ४६ वर्षीय सुनिल श्रेष्ठ भने सकुसल रहेका छन् । बसमा सवार १७ जना रहेको र अन्य यात्रु सकुसल रहेका छन् ।
दार्चुलामा पाठेघरको शल्यक्रिया शिविरका लागि नेपालगंज मेडिकल कलेजको टिम सवार रहेको बस ओरालोमा ब्रेक फेल भई सडकको भित्तामा ठोकिन गई दुर्घटना भएको थियो ।