‘शरणार्थी प्रकरणका सबै नेक्ससलाई कारबाही हुन्छ’

तु खबर संवाददाता
२०८० बैशाख २८, बिहीबार १६:१६
file-photo

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाही गरिने बताएका छन् ।

बिहीबार आफूसँग भेट गर्न आएका नेकपा एकीकृत समाजवादीका नेता तथा जनवर्गीय संगठनका नेताहरूसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको स्पष्ट पारे ।

गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचार मात्रै नभएर संगठित अपराध भएको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी प्रकरण राज्यविरुद्धकै अपराध भएको पनि उनले बताए ।

उनले आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख गर्दै दबाब आए त्यसलाई थेगेरै भएपनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पु¥याइने दृढता व्यक्त गरे ।