अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके, मोरङ, दाङ र झापा गरी चार छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–१३, बुलबुलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित सुर्खेत भेरीगंगा नगरपालिका–९ बस्ने २० वर्षीय बिकास श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध एभिल ५ एम्पुल, डाईजेपाम ५ एम्पुल, लुपिजेशिक ५ एम्पुल र फेनारागन ४ एम्पुलसहित झापा गौरादह नगरपालिका–७ बस्ने ३५ वर्षीय अशोक बिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–९ अटोभिलेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित चितवन भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीय सबिन घर्तिलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, झापाको दमक नगरपालिका–९ बरगाछी नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ कृष्ण मन्दिर बस्ने ३० वर्षीय रोशन बिश्वकर्मा र ३० वर्षीय कैलाश कुर्मी रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
