मोटरसाइकल चोरी गर्ने दुई जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०८० बैशाख १९, मंगलवार १७:३६
file-photo

काठमाडौं । काठमाडौंबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक घर भएका २५ वर्षीय लोकबहादुर पाख्रिन र काभ्रे घर भएका २८ वर्षीय सुजन तामाङ रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले गत बैशाख १५ गते जिल्ला ललितपुर भैंसेपाटीबाट पाख्रिनलाई बागमती प्रदेश ०२–०२८ प ४४४८ नम्वरको २२० सिसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरेको थियो । प्रहरीले सोधपुछ गर्दै जाँदा बौद्ध नयाँबस्ती बस्ने तामाङले दिएको खुलाएका थिए ।

तामाङलाई यसबारे सोधपुछ गर्दा उक्त मोटरसाइकलको वास्तविक नम्बर बा.प्र.०२ ०२१ प ४१७२ खुलेको प्रहरीको भनाई छ । पक्राउ परेका दुबै जनालाई मोटरसाइकलसहित थप अनुसन्धानको लागि प्रहरी वृत चापागाँउ पठाइएको जनाइएको छ ।