एनसेलले अब ९७० रेञ्जबाट नम्बर उपलब्ध गराउने

तु खबर संवाददाता
२०८० बैशाख १४, बिहीबार १५:४९

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियटाले अब ९७० रेञ्जबाट प्रयोगकर्तालाई मोबाइल नम्बर उपलब्ध गराउने भएको छ ।

एनसेलले बिहीबार एक सूचना जारी गर्दै ९८० रेञ्जमार्फत नम्बर उपलब्ध गराउँदै आएको रेञ्जमा सिमकार्ड सकिएकोले अब ९७० बाट नयाँ नम्बर उपलब्ध गराउन लागेको जानकारी गराएको हो ।

जारी सूचनामा भनिएको छ, ‘यस एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि नेपाल दूरसञ्चार प्राधिकरणद्धारा मिति २०७९/१२/६ मा स्वीकृति प्रदान गरिएको पत्र अनुसार ९७०xxxxxxx देखि सुरू हुने नयाँ मोबाइल नम्बर सुचारू गर्न लागेको कुरा सहर्ष जानकारी गराउँदछौं ।’

एनसेलले दूरसञ्चारको नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० चैत्र ६ मा नयाँ नम्बरिङ रेञ्जका लागि स्वीकृति पाइसकेको र सोही अनुरुप अब ९७० बाट सुरु हुने मोबाइल नम्बर वितरण गर्न कम्पनीले जनाएको छ ।

यता, राष्ट्रिय नम्बर योजनाले जीएसएमअन्तर्गत एनसेललाई ९८०, ९८१ र ९८२ गरी तीन फरक रेञ्जमा नम्बर उपलब्ध गराएको दूरसञ्‍चार प्राधिकरणले जनाएको छ ।