‘सुशासन तथा समृद्दिको पथमा अघि बढ्न लोकतन्त्र दिवसले सबैलाई प्रेरित गरोस्’

तु खबर संवाददाता
२०८० बैशाख ११, सोमबार ०८:१२
file-photo

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मनाइँदै गरिएको लोकतन्त्र दिवसले सुशासन तथा समृद्दिको पथमा अघि बढ्न सबैलाई प्रेरित गरोस् भनि शुभकामना दिएका छन् ।

प्रदेश प्रमुख शर्माले सोमबार १७ औं लोकतन्त्र दिवसको अवसरमा एक सन्देश जारी गर्दै देश र जनतालाई सर्वोपरी ठानी लोकतन्त्रलाई दिगो र दरिलो बनाउँदै विकास, स्थिरता,सुशासन तथा समृद्दिको पथमा अघि बढ्न यो दिवसले सबैलाई प्रेरित गरोस् भन्ने कामना गरेका हुन् ।

शुभकामना सन्देशमा प्रमुख शर्माले लोकतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति भावपूर्ण श्रद्दान्जली अर्पण गर्दै आफ्नो जीवनलाई लोकतान्त्रिक मुल्य, मान्यता, आदर्श र सिद्दान्तप्रति समर्पित सम्पूर्ण लोकतान्त्रिक योद्धाहरुप्रति उच्च सम्मान प्रकट गरे ।

उनले आफ्नो शुभकामना सन्देशमा २०६२/०६३ को वसन्तक्रान्ति पश्चात् मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरेका छन् ।

हामीले यसलाई गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा मनाउँने गरेको स्मरण गर्दै उनले शुभकामना सन्देशमा भनिएको छ, ‘यही बलिदानको जगमा खडा भएको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितासहितको संविधान प्राप्त गरी अधिकार सम्पन्न नागरिक भएका छौं । यसर्थ पनि हामीले इतिहासप्रति सदैव गौरवबोध गर्नुपर्दछ ।’