कैलाशमा सडक स्तरोन्नती हुँदै
मकवानपुर । मकवानपुरको विकट कैलाश गाउँपालिकाको वडा नम्वर ९ नामटारदेखि वडा नम्वर १० भाल्टार खुमलटारसम्मको तीन किलोमिटर मोटरेवल बाटोको स्तरोन्नती हुने भएको छ ।
संघीय सरकारको समपुरक बजेटबाट ७० लाख र गाउँपालिकाको ७० लाख गरी एक करोड ४० लाख रुपैयाँ लागतमा उक्त बाटोको स्तरोन्नती गर्न लागिएको गाउँपालिकाका अध्यक्ष मोक्तानले जानकारी दिए ।
बहुवर्षिय योजना अन्तर्गत भीमफेदी गाउँपालिकाको चुनियाँदेखि कैलाश गाउँपालिकाको केन्द्र कालिकाटर जोड्ने उक्त बाटोको पालिकाको वडा नम्बर ९ नामटारदेखि कालिकाटरसम्म ४ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी लागत अनुमान गरिएको छ । जसअन्तर्ग पहिलो खण्डमा आव २०७९/०८० मा एक करोड ४० लाख रुपौयाँ लागतमा नामटारदेखि खुमलटारसम्म र बाँकी काम आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको पालिकाका अध्यक्ष मोक्तानले बताए ।
उक्त बाटो निर्माणका लागि संघीय सरकारले समपुरक बजेट मार्फत ७० लाख, प्रदेश सरकारले एक करोड र बाँकी रकम गाउँपालिकाले व्यहोर्ने सहमती भएको छ । बाटोको शिलान्यास गर्दै पालिकाका अध्यक्ष मोक्तानले २०३७ सालदेखि चलन चल्तिमा रहेको उक्त बाटोको बल्ल स्तरिकरण हुन लागेको जानकारी दिए ।
आयुश्री विल्डर्स एण्ड सप्लायर्स प्रा.लिले निर्माणको जिम्मा पाएको उक्त बाटो २०८१ असार ६ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ । निर्माण कम्पनिले उक्त बाटो स्तरीकरणका क्रममा माटो कटिङ, ग्याविन वाल र स्टोन मेशिनरीको जिम्मा पाएको छ ।
