दुई लाख भारतीय नोटसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख ७, बिहीबार १०:१३
सांकेतिक तस्बिर

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका–१ स्थित खाँडो खोलाबाट भारतीय नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्यअन्तर्गत मधेपुरा जिल्ला ग्रामपञ्चायत रायभिर वडा नं १५ थाना वसन्तपुर घर भएका ४१ वर्षका विधानन्द कुमार विमल रहेका छन् ।

उनलाई बुधबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खटिएको टोलीले दुई लाख १२ हजार भारतीय नोटसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनका साथबाट प्रहरीले दुई हजारको चार थान, पाँच सयको तीन सय ८८ थान र दुई सयको ५० थान गरी जम्मा दुई लाख १२ हजार भारतीय नोट बरामद गरेको छ ।

प्रहरीले भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएका विधानन्दलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको जनाइएको छ ।