प्रधानमन्त्री प्रचण्डले गरे काठमाडौँ–तराइ/मधेश द्रुतमार्गको निरीक्षण
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन काठमाडौँ– तराइ/मधेश दु्रतमार्गको आज स्थलगत निरीक्षण गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डसहित रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले आज दु्रतमार्गको मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ स्थित क्षेत्रमा स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणपश्चात पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रचण्डले कोरोना संक्रमणको जोखिमका कारण निर्माण कार्यमा केही ढिलाई भएतापनि निराश हुनुपर्ने अवस्था नरहेको बताए ।
आफुले प्रत्येक्ष रुपमा टनेलभित्रै गएर अवलोकन गरेको बताउँदै कामको गुणस्तर सन्तोषजनक रहेको उनले बताए ।
‘ठुला–ठूला टनेलहरू बनिरहेका रहेछन् । हिजो मात्रै पनि काठमाडौँमा ब्रिफिङ भएको थियो । कोरोनाका कारण झण्डै साँढे दुई वर्ष काम रोकिएको थियो । त्यसलाई मिलाउन केही समस्या होला । तर, अब निर्माणको कामले तीब्रता पाउनेछ । समग्रमा काम राम्रै भएको अनुभूति भयो ।’ उनले भने ।
उनले आजै बस्ने मन्त्रिपरिषद्को बैठकबाट दु्रत मार्ग निर्माणसँग सम्बन्धित अन्य विषयमाथि निर्णय गरी कामलाई सहजता प्रदान गर्ने बताए ।
आफ्नै कार्यकालमा नेपाली सेनालाई सो द्रुतमार्ग निर्माणको जिम्मा दिइएको र आफ्नै कार्यकालमा निर्माणको कामले पूर्णता पाउने उनले विश्वास व्यक्त गरे ।
७२ किलोमिटर लम्बाइको सो दु्रत मार्गमा अहिले ४६ किलोमिटरको कामका लागि लागेको नेपाली सेनाले जनाएको छ ।
स्थलगत निरीक्षणमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेपाली सेनाका प्रधान सेनापती प्रभुराम शर्मा, बागमती प्रदेशका मन्त्रीहरु, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसहित सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।
