शेयर बजारमा दोहोरो अंकको गिरावट

तु खबर संवाददाता
२०८० बैशाख ४, सोमबार १६:४४

काठमाडौं । आज साताको दोस्रो दिन अर्थात् नयाँ वर्ष २०८० को दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ ।

आज नेप्से परिसूचक २३ अंकले घटेको छ । नेप्से इन्डेक्स १.२२ प्रतिशतले घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको छ । नयाँ वर्ष लागेसँगै शेयर बजार बढ्ने आशामा बसेका आम शेयर लगानीकर्ताहरु निराशा बन्न पुगेका छन् ।

नेप्सेमा सूचीकृत २६७ कम्पनीको ३१ लाख ३९ हजार ९९१ कित्ता शेयर किनबेच हुँदा ९१ करोड ८२ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक विकास बैंक उपसूचक १.८८ प्रतिशत र फाइनान्स उपसूचक १.८० प्रतिशतले घटेको छ ।