लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख २, शनिबार ०९:१८
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट शुक्रबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले देशको तनहुँ र बाँके जिल्लाबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

तनहुँको आबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १० किलो ३ सय ५५ ग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ राईनास नगरपालिका–८ घर भएका २५ वर्षीय सरोज श्रेष्ठ रहेका छन् ।

अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ६१२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–२० स्थित बाँके बिमानस्थलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५ ग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–१ बस्ने २२ वर्षीय अमुल क्षेत्री रहेका छन् ।

विमानस्थल सुरक्षामा खटिएको प्रहरीले श्री एयरलायन्सको बिमानद्वारा काठमाडौंतर्फ जान लागेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।