प्रधानमन्त्री र बार एसोसिएसनका पदाधिकारीहरूबीच छलफल

तु खबर संवाददाता
२०७९ चैत्र ३०, बिहीबार १०:०८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले छलफल गरेका छन् । उनीहरुबीच बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवम् न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको भन्दै प्रशंसा गरेका थिए ।

छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित थिए ।