फेसबुकमा महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र २७, सोमबार १७:१४
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीको साइबर ब्‍यूरोले सामाजिक सञ्जाल फेसबुकको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गाउँपालिका–६ बस्‍ने २० वर्षीय कादिर मोमिन रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा साइबर ब्‍यूरोले झापाबाटै पक्राउ गरेको हो ।

कादिरले पीडित महिलाको फेसबुक वाल/टाइमलाइनमा अन्‍य महिलाको शरीर तस्वीरमा जोडेर अश्लील शब्द तस्वीर र भिडियो पोस्ट गर्नुका साथै टिकमा पनि सोही सामग्री राखेर चरित्र हत्या गरेको प्रहरीको आरोप छ ।

पक्राउ परेका उनमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिन म्‍याद थप गरी आवश्‍यक कारबाहीका लागि अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।