रोजगार बोर्डका नासु र बीमा कम्पनीका अधिकृत पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र २६, आईतवार १७:००
सांकेतिक तस्बिर

काठमाडौं । वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दा गर्दै मृत्यु भएका तथा विदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरूलाई दिलाई दिन्छु भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा ( कम्प्युटर अपरेटर ) ३६ वर्षीय पशुपति अधिकारी तथा सूर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी रहेका छन् ।

यसअघि प्रहरीले यसै गिरोहका ६ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको थियो । बीमा बापत प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिई बाँकी रकम लिई ठगी गरेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ गोङ्गबु स्थितबाट राम बहादुर तामाङ समेत ६ जनालाई चत्रत २३ गते पक्राउ गरेको थियो ।

उनीहरूबाट विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याड लगायतका महत्त्वपूर्ण अन्य विविध कागजातहरू बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको थियो ।

उक्त घटनामा संलग्नहरुको खोजी गर्ने क्रममा चैत २४ गते काठमाडौँ–११ बाट पशुपति अधिकारी र चैत्र २५ गते भक्तपुर–१० कमलविनायकबाट उमेश बुढाथोकीलाई पक्राउ गरिएको थियो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको जनाइएको छ ।