बालिकाको हत्या आरोपमा सात जना पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र २६, आईतवार १६:००

रूकुमपूर्व । रुकुमपूर्वमा बालिकाको हत्या गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत चैत्र २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत्र २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो । ११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढा मगरलाई हत्या गरेर भिरमा फालिएको आशंकामा प्रहरीले शंकास्पद ७ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका जनाइएको छ ।

प्रहरीका अनुसार, दुवै जनाले लगाएको गहना लुटपाट भएकाले उनीहरुको हत्या गरिएको हुनसक्ने आशंका गरिएको हो । दुवै बालिकाको शनिबार शव रुकुमकोट ल्याएर परीक्षण गरिएको छ ।

अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको नाम ठेगाना प्रहरीले खुलाएको छैन । घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।