८ वर्षीया बालिका बलात्कार गर्ने भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र २६, आईतवार १०:२७
file-photo

रौतहट । रौतहटको कटहरीयामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार घोडासहन बजार घर भएका ३० वर्षीय धर्मेन्द्र साह सोनार रहेको प्रहारले जनाएको छ ।

प्रहरीका अनुसार, आरोपी सोनारको ससुराली कटहरीया बजार छेउमै रहेको छ । शनिबार उनी ससुराली कटहरीया आएका थिए । ससुरालीको छिमेकीको घरका अभिभावक महिला पुरुष बाहिर भएको मौका छोपी दिउँसो साढे २ बजे एक जना ८ वर्षीया बालिकाको मुख थुनेर धर्मेन्द्र साहले जबरजस्ती करणी गरी फरार भएका थिए ।

पीडित बालिका रोईकराई गर्दै घटनाबारे आफ्नो काका र काकीलाई सुनाउँदा काकाले भाग्दै गरेका सोनारलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

आरोपी भारतीय नागरिक सोनारलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको जनाइएको छ ।