ज्वाइँको कुटपिटबाट ससुराको मृत्यु
जनकपुरधाम । सप्तरीमा ज्वाइँको कुटपिटबाट गम्भीर घाइते भएका ससुराको मृत्यु भएको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका–६ खामगडाका ५५ वर्षीय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साइन नगरपालिका–७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा ससुरा छठु गम्भीर घाइते भएका थिए ।
ज्वाइँको कुटपिटबाट नाक, मुख, टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई स्थानीय जीवन ज्योति अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि धरान लगिएको थियो ।
स्वास्थ्यमा सुधार हुँदा गत चैत्र १८ गते घर फर्केर औषधि खाइरहेका उनको शनिबार दिउँसो मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न ज्वाइँमाथि छठुकी श्रीमती मायाबति नौनियाको ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएकी थिइन् । ज्वाइँ महतो अहिले पुर्पक्षका लागि थुनामा रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
