एसईई दिइरहेका विद्यार्थीमाथि कुटपिट गर्ने १२ जना पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र २०, सोमबार १७:३८
सांकेतिक तस्बिर

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आइतबार एसईई परीक्षा दिएर घर फर्किरहेका बेला चार जना विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१९ को फूलबारी माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएर घर फर्किरहेका बेला कुटपिट गर्ने सोही ठाउँका १२ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–१८ बस्ने १९ वर्षीय राजेश बिसी, २२ वर्षीय किसन खड्का, २० वर्षीय रविन्द्र खड्का, २० कै प्रविन रानामगर, २१ वर्षीय अशोक बिक समेतका १२ जना रहेका छन् ।

पक्राउ पर्ने अन्य नाबालक भएकाले प्रहरीले परिचय खुलाएको छैन । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।