प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद् विस्तार, कस्को भागमा कुन मन्त्रालय ? (सूचीसहित)

तु खबर संवाददाता
२०७९ चैत्र १७, शुक्रबार १५:२९
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार सातौं पटक मन्त्रिमण्डल पुनर्गठन र विस्तार गरेका हुन् ।

गत पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले शुक्रबार मन्त्रीपरिषद् विस्तार गरेपनि पूर्णता भने दिन सकेनन् । प्रचण्ड नेतृत्वको सरकारमा २ जना उपप्रधानमन्त्री बनेका छन् ।

सुरुमा एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले राष्ट्रपति निर्वाचनपछि गठबन्धन फेरेर नेपाली कांग्रेससहितको गठबन्धनमा आएपछि शुक्रबार मन्त्रीमण्डल हेरफेर गरेका हुन् ।

पुर्नगठित मन्त्रीमण्डलमा कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, नेकपा एकीकृत समाजवादीका डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी, जसपाका अशोक राई शिक्षा, लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार, कांग्रेसका डा. प्रकाशसरण महत अर्थ, नेसपाका महिन्द्र राययादव महिला बालबालिका, माओवादीका शक्ति बस्नेत ऊर्जा तथा जलश्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसैगरी, एकीकृत समाजवादीका प्रकाश ज्वाला, भौतिक योजना, नागरिक उन्मुक्तीका रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, कांग्रेसका रमेश रिजाल उद्योग र कांग्रेसकै सिता गुरुङले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीका चार मन्त्री पुरानै मन्त्रालयको जिम्मेवारीमा रहेका छन् भने नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघि खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले भने राजीनामा दिएका छन् । मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानले पदबाट राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले ५ वटा मन्त्रालय भने आफैसँग राखेका छन् । जसमा कानुन न्याय तथा संसदीय,परराष्ट्र, युवा तथा खेलकुद,वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै रहेका छन् । नयाँ मन्त्रीहरुको आजै शपथ ग्रहण हुँदैछ ।