बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ
काठमाडौं । प्रहरीले ललितपुरको भैँसेपाटीबाट बैकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–११ बस्दै आएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार, धनकुटा नगरपालिका–६ स्थायी घर भएका श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा चार दिन कैद र रु १४ लाख ४८ हजार जरिवाना ठहर गरेको थियो । अदालतको उक्त फैसलापछि श्रेष्ठ फरार थिए ।
श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएकामा अदालतको आदेशले कैद भुक्तानका लागि नख्खु कारागार ललितपुर पठाइएको जनाइएको छ ।
