अवैध लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र १४, मंगलवार ०८:५१
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले छुट्टाछुट्टै जिल्लाबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरी र मोरङ गरी दुई छुट्टाछुट्टै जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले महोत्तरीको एकडरा गाउँपालिका–५ गेना बथनाहा टोल बस्ने ६५ वर्षीय सोवित कापरलाई लागूऔषध गाँजा २ किलोग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटकटैयाबाट खटिएको प्रहरीले उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१५, १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९६ मिलिग्रामसहित सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने २३ वर्षीय गोपाल बिश्वकर्मा रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।