अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले छुट्टाछुट्टै जिल्लाबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा र पर्सा गरी दुई छुट्टाछुट्टै जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले झापाको बिर्तामोड नगरपालिका–३ पुण्डरी चोकबाट गएराति लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८०० मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईलाम चुलाचुली गाउँपालिका–४ बस्ने २७ वर्षीय सुरेश लिम्बु रहेका छन् । उनलाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले पर्साको कालिकामाई गाउँपालिका–१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेश प्रसाद कुर्मीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब १० केजीसहित गएराति पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी निजलाई पक्राउ गरिएको जनाएको छ ।
दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।
