सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ । सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको सोमबार तोकिएको सुनुवाई स्थगित भएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो । तर, सन्दीप पक्षले पेसी स्थगित गरेका हुन् । यसअघि न्यायाधीश घिमिरेकै इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
न्यायाधीश घिमिरेको इजलासले पुर्पक्षका लाथि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।
त्यस्तै, फागुन १५ गतेको सर्वोच्च अदालतको संयुक्त इजलासले सन्दीप लामिछानेलाई विदेशमा गएर प्रतियोगितामा भाग लिन कुनै अवरोध नगर्नु भन्ने आदेश दियो ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले उच्च अदालतको सर्तसहितको धरौटीमा छाड्ने आदेशको प्रकरण २१ को ‘क’ बदर गर्दै अन्य विषय सदर गरेको थियो ।
