गठबन्धन नगरी उप–निर्वाचन लड्ने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी बैशाख १० गते हुने उप–निर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको निर्णय भएको रास्वपा उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार, चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुने उप–निर्वाचनमा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय हो । यसैगरी, उक्त बैठकले उप–निर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।
निर्वाचन परिचालन समितिका लागि तनहुँमा पार्टीका सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उप–सभापति अर्याल र बारामा गणेश कार्कीलाई संयोजक तोकिएको रास्वपाले जनाएको छ ।
