बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

तु खबर संवाददाता
२०७९ चैत्र १०, शुक्रबार ०८:०१
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका हुन् ।

गत चैत्र ८ गते बुधबार अपराह्न ३ बजे विश्वासको मत लिनका लागि बोलाइएको बैठक नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि सुचना टासेर स्थगित गरिएको हो ।

प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सभामार्फत पुनः विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेलले यसअघि पहिलो पटक गत माघ ३ गते विश्वासको मत लिएका थिए । त्यतिखेर उनलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ६ वटा दलका सांसदहरुले समर्थन गरेका थिए ।

राप्रपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको एक महिना भित्रमा विस्वासको मत लिनुपर्ने कानूनी व्यवस्था रहेको छ । सोही व्यवस्था अनुरुप उनले विश्वासको मत लिन लागेका हुन् ।

गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।