मकवानपुरको ७ वटा क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी

तु खबर संवाददाता
२०७९ चैत्र ५, आईतवार १०:३१

मकवानपुर । स्ववियु निर्वाचन अन्तर्गत मकवानपुरको ७ वटा क्याम्पसमा हाल मतदान जारी छ । जिल्लाको ८ वटा क्याम्पसमध्ये ७ वटामा बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।

जिल्लाको थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पसमा भने सबै राजनीतिक दलका विद्यार्थी सङ्गठनबीच सहमतिमा स्ववियु समिति गठन गरिएको छ । सो क्याम्पसमा नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) का पुष्कर श्रेष्ठको नेतृत्वमा सबै पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन गरिएको हो ।

यस्तै, जिल्लाको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडन क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस, वंशगोपाल बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पसमा मतदान जारी छ ।

ती सबै क्याम्पसमा २ वटा प्यानल बनेर प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंले एउटा प्यानल बनाएको छ भने नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) को अर्को प्यानल रहेको छ ।

मतदान दिउँसो ४ बजेसम्म संचालन हुनेछ ।