जसपाका नेताहरू र लोसपाका अध्यक्ष ठाकुरबीच भेटवार्ता
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेताहरू र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच बबरमहलस्थित लोसपाको पार्टी कार्यालयमा भेटवार्ता भएको हो । भेटमा देशको समसामयिक राजनीतिक अवस्था, उपराष्ट्रपतिको चुनावलगायतको विषयमा कुराकानी भएको जसपाका केन्द्रीय सदस्य प्रदीप यादवले जानकारी दिए ।
अध्यक्ष ठाकुरले आफ्नो पार्टी गठबन्धनमै रहेको र गठबन्धनले गर्ने निर्णयअनुसार अगाडि बढ्ने भन्दै रामसहाय यादवलाई शुभकामना दिएका थिए ।
त्यसैगरी, मौन अवधिकै बिच जसपाका नेताहरूले आजै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग पनि भेटघाट गरेका छन् । नेता निधिको बानेश्वरस्थित निजी निवासमा जसपाका नेताहरूले भेटेका हुन् । भेटघाटमा देश समसामयिक राजनीतिक अवस्था, मन्त्रीपरिषद् विस्तार, उपराष्ट्रपतिको चुनावलगायतको विषयमा कुराकानी भएको बताइएको छ ।
