माओवादी धारको संयुक्त पत्रकार सम्मेलन आज हुँदै
काठमाडौं । माओवादी धारले आज संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । जनयुद्धकालिन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट सम्बोधन गर्न थालेकोमा आपत्ति जनाएका माओवादी धारले आज अपराह्न २ बजे पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।
पत्रकार सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी घटक दलका सबै शीर्ष नेताहरू, नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवालाहरु उपस्थित रहने छन् ।
सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट मुद्दा सम्बोधन गर्न थाले पछि सो पहलकदमी विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत भएको भन्दै प्रतिवाद गर्ने यसअघि नै धारणा सार्वजनिक गरिसकेको छ । माओवादी केन्द्र र माओवादी धारका दलहरूले अलग–अलग वक्तव्यमार्फत पनि सर्वोच्चको पछिल्लो निर्णय प्रति असहमति जाहेर गरेका छन् ।
माओवादीले सो असहमति जाहेर गरे पनि शुक्रबार सर्वोच्च अदालतले भने माओवादी अध्यक्ष प्रचण्डलाई पक्राउ गरी पाउँ भन्दै परेको रिटलाई अग्राधिकार दिई १५ दिनभित्र अदालतमा उपस्थित हुन वा वारेसमार्फत जवाफ दिन कारण देखाऊ आदेश दिइसकेको छ ।
