राष्ट्रपति निर्वाचनको मतगणना सुरु
काठमाडौं । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ बानेश्वरसिस्थत संसद् भवनमा मतदान सकिएसँगै स्काईलाइट हलमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो ।
राष्ट्रपति पदको लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा होमिएका छन् ।
बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म भएको राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको थियो । मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहेका थिए भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भएका थिए ।
यस्तै, एक जना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् । यस्तै, रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ ।
यसैगरी, प्रदेशतर्फ ५५० जनामध्ये ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
