राष्ट्रपति निर्वाचन आज हुँदै
काठमाडौं । राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया संचालन हुने निर्वाचन आयोगले जनाएको छ ।
संघीय संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेश सभाका सदस्यले मतदान गर्नेछन् । बानेश्वरस्थित संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । संघीय संसदका लागि एउटा र प्रदेश सभा सदस्यहरुलाई अर्को मतदान केन्द्र बनाइएको हो । ३ बजेसम्म लाइनमा बसेका मतदाताहरुले मात्र मतदान गर्न पाउने निर्वाचन अधिकृत महेश शर्माले जानकारी दिए ।
मतदान केन्द्रभित्र मोबाइल लैजान पाइने छैन । यदि कसैले मोबाइल लगे निर्वाचन कसूर हुनेछ । निर्वाचन अधिकृत शर्माका अनुसार, ४ बजेबाट मत गणना सुरु गर्ने र साँझ ७ बजे मत परिणाम घोषणा गर्ने तयारी गरिएको छ ।
राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेशतर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र बानेश्वर पठाइसकेको छ । मतपत्रमा उम्मेदवारको नाम र फोटो हुने तर निर्वाचन चिह्न नहुने पौडेलले बताए ।
मतपत्रमा स्वस्तिक बाहेक अन्य चिह्न लगाए वा ‘ठिक’ चिह्न लगाएमा मतपत्र बदर हुने निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । मतदान सम्पन्न भएपछि आजै ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी गरेको उनले बताए ।
राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनबाट पूर्वसभामुखसमेत रहिसकेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।
