कांग्रेसले सांसदहरुलाई विषय विज्ञबाट परामर्श दिने
काठमाडौं । नेपाली कांग्रेसले संसदमा प्रस्तुत हुने विशेष विधेयकहरुमा छलफल गर्नुअघि आफ्ना सांसदहरुलाई विषय विज्ञ बोलाएर जानकारी गराउने भएको छ ।
शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा विशेष विधेयकका बारेमा संसदमा बोल्नका लागि सांसदहरुलाई तयारी स्वरुप विषयविज्ञहरु बोलाएर विधेयकबारे जनकारी गराउने भएको हो ।
कांग्रेसका सांसद उदयशमशेर राणाले संसदमा पेस हुने कतिपय विधेयकहरु प्राविधिक विषयका हुने र त्यसबारेमा सांसदहरु अनविज्ञ हुने भएकाले सांसदमा बोल्नुअघि विषयका बारेमा जानकारी गराउने उद्देश्यले सो व्यवस्था गरिएको जानकारी दिए ।
त्यस्तै, कांग्रेसबाट राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले नेपाली कांग्रेस संसदीय दलले विशेष प्रकारका विधेयकहरुमा सबै सांसदहरुलाई राखेर छलफल गर्ने कुरा प्रारम्भ गरेको बताए । उनले बैठकमा सम्पति शुद्धिकरणको विधेयकका बारेमा पनि छलफल भएको बताए ।
